‘प्रसाद २’मा भित्रिइन् केकी



२०७५ सालको समीक्षात्मक र व्यवसायिक दुवै रुपमा सफल फिल्म ‘प्रसाद’को दोस्रो श्रृंखलामा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ । स्क्रिप्ट फाइनल भएसँगै नारायणीको भूमिकामा अनुबन्ध भएकी अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीवार निर्माता र उनीबीच सम्झौता भएको छ ।

‘प्रसाद २’लाई ‘प्रसाद’को सिक्वेल भनिएको छ । अर्थात्, अघिल्लो श्रृंखला जहाँ अन्त्य भएको थियो त्यहीँबाट सिक्वेल अगाडि बढ्ने निर्माण टिमले बताएको छ । यो हुँदा अघिल्लो श्रृंखलाकै कलाकार द्वय विपिन कार्की र नम्रता श्रेष्ठको विकल्प छैन । तर, नम्रताको ठाउँमा ‘प्रसाद २’मा केकी भित्रिएपछि फाइनल भइसकेकै कथामा फिल्म हुन्छ वा स्क्रिप्ट परिवर्तन हुन्छ भन्ने चासो उब्जिएको छ ।

केकीले पहिलो पटक हिट फिल्मको सिरिजमा काम गर्न लागेकी हुन् । यसकारण पनि ‘प्रसाद २’लाई लिएर उनी उत्साहित छिन् । नम्रताले काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अन्ततः केकीले यो फिल्मलाई आफ्नो पोल्टामा पारेकी छन् । अब मंसिरबाट फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।

‘प्रसाद २’मा नम्रता नहुने भए पनि विपिन भने यथावत् छन् । अब फिल्ममा विपिन र केकीको जोडी बाँधिनेछ । सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने यस फिल्ममा अर्पण थापा, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । फिल्मको कथा पत्रकार शुशील पौडेलले लेखेका हुन् ।

प्रतिक्रिया




Top