चुनाव बिथाेल्ने गतिविधि हुन दिइँदैन : निर्वाचन आया


बिरगंज २२ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले चुनाव बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चुनाव बिथोल्ने खालको गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको नेकपाको नाम नलिइ कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र त्यहीअनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कुनै राजनीतिक समूहले चुनाव बिथाेल्ने भनेकाे कुरालाई हामीले गम्भीररूपमा लिएर छलफल गरेका छौँ । चुनाव बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन । यसमा हामी सचेत छौँ ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया




Top