नारायणी वयोधा अस्पतालको ठगी, मरेको व्यक्तिको उपचार, ६ घण्टामा रु छ लाखको बिल



नारायणी वयोधा अस्पतालले उपचारको नाममा लुट्ने काम गरिरहेको जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी विजय चौरसियाले आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा बिहीवार पत्रकार सम्मेलन गरी चौरसियाले भाइको उपचारको क्रममा अस्पतालले छ घण्टामा छ लाख बिल बनाएर लुटेको बताए ।

उनले वैशाख १२ गते मङ्गलवार राति सिमरा विमानस्थल क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परी भाइ विजय चौरसिया र धीरज गुरुङ घाइते भएको र दुवैलाई उपचारको लागि मेडिसिटी वयोधा अस्पताल, वीरगंजमा भर्ना गरिएको बताए । उनले घाइते भाइ र गुरुड्ढो मृत्यु भइसकेको र उनीहरूको उपचारको क्रममा अस्पतालले छ घण्टामा छ लाखको बिल बनाएको बताए ।

घाइते भाइ चौरसियाको सिटीस्क्यान रिपोर्टबाट शल्यक्रिया गर्ने अवस्था नरहेको भएपनि अस्पतालले बिल बढाउनको लागि शल्यक्रिया गरेको र त्यसको बिल मात्र रु तीन लाखको बनाएको आरोप लगाए । छ घण्टामा औषधि उपचारमा मात्र रु ४८ हजारको औषधि खरीद गराउन लगाएको र केही घण्टापछि रु ४० हजारको औषधि फिर्ता गर्न लगाएको बताए ।

चौरसियाले भाइको मृत्यु भइसकेको आफूले थाहा पाइसके पनि अस्पतालले असामान्य अवस्था रहेको भन्दै शल्यक्रिया गरेको बताए । शल्यक्रिया शुल्क एक लाख ९२ हजार, ओटी चार्ज एक लाख पाँच हजार, एनेस्थेसिया चार्ज रु ५२ हजारलगायतका बिलहरू थमाएको बताए ।

उनले यसबारेमा सोधपूछ गर्दा  अस्पतालले केही स्थानीय बाउन्सरहरू लगाएर तर्साउन खोजेको र आफूमाथि दुव्र्यवहार गरेको बताए । उनले अन्य उपचार खर्चको बिल माग्दा नदिएको आरोप लगाए । अस्पतालले उपचारबापत लाग्ने खर्चको विवरण सबैले देख्नेगरी राख्नुपर्नेमा सो नगरिएको र मनपरीरूपमा चार्ज गर्ने गरेको उनले बताए ।

चौरसियाले नारायणी वयोधा अस्पतालले बिरामीहरूबाट फिल्मी स्टाइलमा लूट मचाइरहेको बताए । बिरामीको उपचारको सन्दर्भमा परिवारसँग सल्लाह नगर्ने, जथाभावी उपचार गरेर बिल थमाउने काम गैरकानूनी कार्य भएको उनले बताए । सम्बन्धित व्यक्तिले त्यत्ति रकम तिर्न सक्छ, सक्दैन सोबारे नबुझेर भर्ना भएको बिरामीको अन्धाधुन्ध उपचार गर्ने र सोबापतको रकम माग गर्नु गैरकानूनी भएको भन्दै यस सम्बन्धमा सम्बन्धित पक्षले पहल गर्नुपर्ने बताए । यो उपचारमा यति खर्च लाग्छ भनी बिरामी वा परिवारसँग सल्लाह गर्नुपर्नेमा त्यस्तो केही नगरिएको उनको भनाइ छ । बिरामी भर्ना हुने बित्तिकै उसको हैसियतसमेतको आकलन नगरेर जथाभावी उपचार गरेको देखाउने र बिल थमाउने र सोको विरोध गर्दा बाउन्सर लगाउने कार्यविरुद्ध प्रहरी प्रशासनले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया




Top