विश्रामपुरमा दुई पक्षबीचको झगडामा मदन तिवारी र मदन पटेल गम्भीर घाइते भएका छन्, जहाँ दुबै पक्षका व्यक्तिहरूको हात भाँचिएको छ। मदन पटेलकी श्रीमतीको टाउकोमा गम्भीर चोट लागेर १० वटा टाका लगाउनु परेको छ, र उनका छोराछोरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ। झगडाको क्रममा मोटरसाइकल समेत तोडफोड भएको छ।
यस गम्भीर घटनाका बाबजुद, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो उर्फ जुबेर भाइले पीडितलाई भेट्न नजाने मात्र होइन, उल्टै प्रहरीमा मुद्दा दर्ता गर्न नदिन दबाब दिएका छन्। आरोप छ कि गा.पा. अध्यक्ष र केही बिचौलियाहरूले मदन पटेलको मेडिकल रिपोर्ट परिवर्तन गरेर मुद्दा कमजोर बनाउन प्रयास गरेका छन्। प्रहरी उपरीक्षकलाई समेत आफ्नो पक्षमा राख्दै, जुबेर भाइले मुद्दाको न्यायिक प्रक्रिया प्रभावित पारिरहेको आरोप छ। डेढ महिना बितिसक्दा पनि घटनामा कुनै ठोस कारबाही भएको छैन।
लोकतान्त्रिक शासन प्रणालीमा जनप्रतिनिधिहरूले सबै नागरिकलाई समान रूपमा व्यवहार गर्नुपर्ने हो। तर, विश्रामपुरको यो घटनामा जनप्रतिनिधिले आफ्नो राजनीतिक स्वार्थका लागि कमजोर वर्गका नागरिकहरूलाई विभेदपूर्ण व्यवहार गरेको देखिन्छ। कानुनको उल्लंघन गर्दै जनप्रतिनिधिले व्यक्तिगत रिसिभी साध्न खोज्नु गम्भीर चिन्ताको विषय हो। जनप्रतिनिधिहरूको कर्तव्य भनेको समानता, समृद्धि, सामाजिक न्याय र निष्पक्षताका सिद्धान्तहरूमा आधारित शासन व्यवस्था कायम गर्नु हो। तर यहाँ जनप्रतिनिधिले आफ्नो मर्यादा बिर्सेर पदको दुरुपयोग गरेको आरोप लागिरहेको छ।
घटनाको डेढ महिनापछि, भारतको उत्तराखण्डबाट आएको खबरले झन् ठूलो आघात दिएको छ। मदन पटेलको छोराको हत्या गरी ट्रेनको लिकमा फालिएको पुष्टि भारतीय प्रहरीले पठाएको फोटोबाट भएको छ। यस्तो दर्दनाक घटनाका बावजुद, जब पीडित परिवारले गाउँपालिकाबाट सहयोग माग्यो, मेयर जुबेर भाइले विभिन्न बहानाबाजी गर्दै गाउँपालिकाको एम्बुलेन्ससमेत पठाउन अस्वीकार गरे।
पीडित मदन पटेलले रुँदै प्रश्न गरेका छन्, “के यो देशमा न्याय मरिसकेको हो? गरिबको कोहि छैन ? गाउँपालिकाको अध्यक्ष भएर पनि मेयरले आफ्नो दायित्व पूरा नगर्ने र प्रहरी उपरीक्षकले पनि जिल्लावासीको सुरक्षामा ध्यान नदिने यो स्थिति कहिलेसम्म रहन्छ? न्याय दिने र अनुसन्धान गर्ने निकायहरू सधैं पैसा र पावरले चलिरहने हुन्?”
आम नेपाली जनताले तिरेको करबाट पालिएका यी पदाधिकारीहरू जिम्मेवारीबाट टाढा रहेर माया र ममता बिनाको समाज निर्माण गरिरहेका छन् भन्ने कुरा स्पष्ट देखिन्छ। विश्रामपुरमा भएको यो घटना न्यायको गम्भीर प्रश्न उठाउँदै देशभरको ध्यान तान्न पुगेको छ।
प्रतिक्रिया