पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम



सुमेस्वर साह,

पर्सा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम भएको छ ।वीरगन्जमा आयोजित स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा गुणस्तरीय स्वास्थ्य सेवाको कार्य सम्पादनमा जिल्लाका १४ वटै पालिकामध्ये ठोरी गाँउपालिकाले प्रथम स्थान हासिल गरेको घोषणा गरिएको हो।

गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालय पर्सा मार्फत सञ्चालित कार्यक्रमहरुमा पालिकाका स्वास्थ्य शाखाले हासिल गरेका प्रगतिको समीक्षा र मुल्यांकन गर्दा ठोरी गाँउपालिकाले प्रथम स्थान हासिल गरेको जनस्वासथ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । यस्तै जगरनाथपुर गाँउपालिकाले दोश्रो र सखुवा प्रसौनी गाँउपालिकाले तेस्रो स्थाान प्राप्त गरेको ठाकुरले जानकारी दिए ।

गोष्ठीको समापन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सन्जय ठाकुरले पहिलो,दोस्रो र तेसस्रो स्थान प्राप्त गर्न सफल पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे ।

त्यसअवसरमा सचिव डा. ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिने हो र उनिहरुको हौसला बढाईदिने हो भने स्वत सुशासन कायम हुने बताए । यदि काम गर्ने वातावरण भएन र उनिहरुको मनोबल बढाउने काम भएन भने कर्मचारीको काम गर्ने जाँगर नै मर्ने भएकाले त्यसले कार्यसम्पादनको नतीजामा नकरात्मक प्रभाव देखिने उनले बताए ।

डा. ठाकुरले स्वास्थ्यकर्मीले समुदायमा भिजेर काम गर्नुपर्नेमा जोड दिदैं त्यसकै फलस्वरुप पर्सा स्वास्थ्य कार्यालय मधेसका आठ वटै जिल्लामा पहिलो हुन सफल भएकोपनि बताए । कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका सचिव राजिव झाले स्वस्थ्य कार्यालय पर्साको कार्यसम्पादन मधेस प्रदेशमै उत्कृष्ट रहेको बताए । यसलाई आगामी वर्षमापनि निरन्तरता दिन उनले आग्रह गरे ।

दुई दिने समिक्षा गोष्ठीमा पर्सा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यका क्षेत्रमा गरिने कार्यक्रमको योजना निर्माणमा समेत छलफल भएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

जनस्वास्थ्य कार्यलय पर्साका प्रमुख डा. मुक्ति नारायण साहको अध्यक्षतामा भएको गोष्ठीमा जिल्लाका १४ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्य क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंघाका प्रतिनिधि लगायतको सहभागीता थियो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन कुर्मी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतकोपनि उपस्थिति थियो ।

प्रतिक्रिया




Top