सर्लाहीमा युवकद्वारा श्रीमतीको गोली हानी हत्या, बुबा पनि घाइते


सर्लाही । हरिपूर्वा नगरपालिका-५ मा गएराति एक दर्दनाक घटना घटेको छ। २७ वर्षीय धीरेन्द्र यादवले आफ्नी श्रीमती २३ वर्षीया चित्रलेखा यादवलाई गोली हानी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यो घटना राति करिब २ बजे घटेको हो।

चित्रलेखा यादवको टाउको र आँखामा गोली लागेपछि घटनास्थलमै मृत्यु भएको थियो। यसै क्रममा धीरेन्द्रका बुबा, ५४ वर्षीय रामदिनेश यादव, पनि घाइते भएका छन्। रामदिनेशलाई कुहिनोमा गोली लागेको र उनी अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले दुई राउण्ड गोलीको खोका र एक मिसफायर भएको गोली बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा प्रहरीले बुहारीलाई गोली प्रहार हुन थालेपछि रामदिनेशले हस्तक्षेप गर्न खोज्दा उनी पनि घाइते भएका हुन् भन्ने अनुमान गरेको छ।

धिरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी गोली प्रहारपछि फरार रहेका छन् भने उनको खोजी कार्य र श्रीमतीको हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक चित्रलेखा यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया




Top