वीरगंज | पर्सामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गएकोपनि जिल्लामा यो सेवा प्रदान गर्ने मान्यताप्राप्त स्वास्थ्य संस्थाको भने कमी रहेको छछ । पर्साको १४ पालिकामध्ये हाल ४ वटा पालिकामा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।वीरगन्ज महानगरपालिका, पोखरिया र पर्सागढी नगरपालिका तथा सखुवाप्रसौनी गाँउपालिकामा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।
बहुदरमार्ईनगरपालिका तथा पटेर्वासुगौली,ठोरी,छिपहरमाई,धोबिनी,कालीकामाई,पकाहामैनपुर,जगरनाथपुर,जीराभवानी र बिन्दवासिनी गाँउपालिका गरी १० पालिकामा भने सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था नै नभएको स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सीङ अधिकृत मीरा यादवले बताइन् ।
पर्सा जिल्लामा हाल वीरगन्ज महानगरका ५ तथा पर्साागढी नगरपालिका, पोखरिया नगरपालिकामा १÷१ र सखुवाप्रसौनी गाँउपालिकाका २ गरी कूल ९ स्वास्थ्य संस्थामामात्र सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ । तीमध्ये ७ वटा सरकारी र २ वटा निजी स्वास्थ्य संस्था हुन् ।
हाल सुरक्षित गर्भपतन सेवा उपलब्ध जिल्लाका ७ सरकारी स्वास्थ्य संस्थामापनि दक्ष जनशक्तिको अभाव रहेकाले सेवा प्रवाहमा समस्या भइरहेको यादवले बताइन् । उनका अनुसार, सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मीले एसबिए (दक्ष प्रसूतीकर्मी )को दुई महिना तालिम लिएपछि एमए (मेडिकल एबोर्सन)कोपनि ५ दिनको थप तालिम लिनुपर्छ । अनिमात्र उ सुरक्षित गर्भपतन सेवा दिनका लागि दक्ष हुन्छ ।
तर उक्त तालिम लिएका स्वास्थ्यकर्मीको कमीका कारण जिल्लाका बाँकी १० पालिकाका सरकारी स्वास्थ्यबाट सुरक्षित गर्भपतनको सेवा सञ्चालन गर्न नसकिएको यादवले बताइन् । उनले भनिन्,‘ थप १० जनालाई त्यो तालिम दिने व्यवस्था गरिदिनुपर्यो भनेर स्वास्थ्य कार्यालयले परिवार नियोजन कल्याण महाशाखा कााठमाडौंलाई पटक पटक आग्रह गरिसकेको छ । तर कुनै सुनुवाई भएको छैन अहिलेसम्म।’
जिल्लाका ग्रामीण भेगका अधिकांश पालिकामा सुरक्षित गर्भपनत सेवा प्रदान गर्ने मान्यताप्राप्त स्वाास्थ्य संस्था नहुदा त्यस भेगका सेवाग्राहीहरु सीमा पारि भारतका अस्पतालमा जान बाध्य रहेको उनले बताइन् । भारतका अस्पताल र नर्सिङ होममा पनि दक्ष स्वास्थ्यकर्मी नहुदाँ ज्यान जोखिममा राखेर सेवा लिन बाध्य रहेको उनले बताइन् ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, पर्सामा गत आर्थिक वर्षमा १ हजार ६ सय ७१ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसअघिको आर्थिक वर्ष २०७९÷८० मा भने पर्सामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ४ सय ९८ मात्र थियो ।
प्रतिक्रिया