खराब मौसम र कम भिजिबिलिटीका कारण हवाई उडान प्रभावित



वीरगञ्ज । लगातारको वर्षा र खराब मौसमले देशभरका हवाई उडानहरूमा प्रभाव परेको छ। मौसम प्रतिकूलताका कारण विभिन्न गन्तव्यतर्फका धेरैजसो उडानहरू आज रद्द गरिएको छ। पश्चिमका धनगढी, नेपालगन्ज, र भैरहवातर्फका उडानहरू भने केही घण्टाका लागि स्थगित भएका छन् । खराब मौसमको कारण पोखरा, सुर्खेत, र भरतपुरजस्ता प्रमुख गन्तव्यहरूमा उडान गर्न नसकिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। बुद्ध एअरले दैनिक धेरै उडान गर्ने भएपनि मौसम प्रतिकूलताको कारणले आज बिहानैदेखि कुनै पनि उडान गर्न नसकेको उनले बताए।

मौसमको प्रतिकूलताका कारण माउन्टेन फ्लाइट समेत रद्द गरिएको छ। यो फ्लाइट पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ, जसमा पर्यटकहरूले हिमाली शृंखला अवलोकन गर्ने अवसर पाउँछन्। यद्यपि, मौसममा सुधार आएपछि मात्र यी उडानहरू पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

सिमरा बिमानस्थलका प्रमुख सुरेश रेग्मीका अनुसार, सिमरादेखि काठमाडौंका उडानहरू पनि प्रभावित भएका छन्। बिमानस्थलमा भिजिबिलिटी न्यून हुँदा उडानहरू रोकिएको र मौसम सुधार हुनासाथ मात्र उडान सुचारु हुने उनले जानकारी दिए।खराब मौसमको असरले गर्दा यात्रुहरूले हवाई सेवा अवरुद्ध हुँदा असुविधा भोग्नुपरेको छ भने एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै उडान रद्द गरेको बताइएको छ।

प्रतिक्रिया




Top