अविरल वर्षाले विद्युत् आपूर्तिमा अवरोध, काठमाडौँसहित देशभर प्रभाव



बिरगंज टूडे

वीरगञ्ज । अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको छ। लगातारको वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा काठमाडौँसहित देशका अधिकांश स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको हो।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौँ उपत्यकाको करिब आधा क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा करिब ४०० मेगावाट विद्युत् खपत हुने गरे पनि हाल यो मात्र २०० मेगावाट हाराहारीमा झरेको छ।

प्राधिकरणका अनुसार बानेश्वर ‘सबस्टेसन’बाट ललितपुरको गोदावरी, इमाडोल, लुभु, च्यासल लगायतका क्षेत्रमा आपूर्ति हुने ‘फिडर’हरू प्रभावित भएका छन्। भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति गर्ने फिडरसमेत बन्द भएका छन्।

त्यस्तै, पाटन सबस्टेसनबाट खुमलटार, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको प्रवक्ता घोषले जानकारी दिए। यस्तै लैनचौर, टेकु, नयाँ चाबहिल र स्युचाटार सबस्टेसनबाट आपूर्ति हुने ठाउँमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ।

प्राधिकरणको टोली विद्युत् आपूर्ति यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन खटिएको छ। धेरै ठाउँ जलमग्न भएका र नदीमा जलसतह बढेकाले लाइन सञ्चालनमा कठिनाइ भएको प्राधिकरणले जानकारी दिएको छ। साथै, देशका अन्य विभिन्न स्थानमा पनि विद्युत् आपूर्ति प्रभावित भएको छ।

प्राधिकरणले स्थानीयबासीलाई संयम रहन आग्रह गर्दै, विद्युत् सेवा छिट्टै सुचारु गरिने आश्वासन दिएको छ।

प्रतिक्रिया




Top