अविरल वर्षाका कारण मङ्गलवारसम्म वीरगञ्जका सम्पूर्ण विद्यालय बन्द



वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार वीरगञ्ज महानगरपालिकामा अविरल वर्षाका कारण आइतबारदेखि मङ्गलवारसम्म सम्पूर्ण विद्यालयहरू बन्द गरिने भएको छ ।

वीरगञ्ज महानगरपालिकाले वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै महानगरभित्रका सबै विद्यालयहरूलाई आगामी तीन दिन (मिति २०८१ असोज १३ देखि १५)  का लागि पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।

साथै, विद्यालयहरूमा वर्षाका कारण कुनै पनि क्षति पुगेको भए, त्यसको विवरण महानगरलाई तुरुन्त उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले समेत भारी वर्षाको कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको र शैक्षिक संस्थाहरूमा क्षति पुगेको जानकारी गराएको छ । यसै सन्दर्भमा वीरगञ्ज महानगरपालिकाले पनि सतर्कता अपनाउँदै बाढी र पहिरोको सम्भावनालाई ध्यानमा राखेर सुरक्षाको लागि विद्यालय बन्दको निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूमा सुरक्षा सतर्कता अपनाउने, कुनै पनि क्षति भएमा समयमै विवरण सङ्कलन गर्ने र सम्बन्धित निकायलाई आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छ ।

वर्षाका कारण थप क्षति नहोस् भनी महानगरपालिकाले नागरिकलाई सतर्क रहन र आवश्यक परेमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया




Top