वीरगञ्ज । वीरगञ्ज क्षेत्रका बाढी प्रभावितहरूका लागि राहतस्वरूप निःशुल्क खानपान र बसोबासको व्यवस्था गरिएको छ। होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बाढीका कारण प्रभावित भएका व्यक्तिहरूका लागि निःशुल्क रुपमा खाना र बस्नको व्यवस्था गर्ने बताएका हुन् ।
तत्कालका लागि २० देखि ३० जनासम्मलाई निःशुल्क खान र बासको व्यवस्था गर्ने पन्तले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका संयोजक समेत रहेका पन्तका अनुसार, बाढीको कारण घर डुबानमा परेर खान र बस्न समस्या भएका व्यक्तिहरूलाई वीरगञ्जस्थित आर्मी ब्यारेक नजिकैको क्लासिक ब्यान्क्वेटमा यो सेवा उपलब्ध गराइनेछ ।
पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई यसबारे जानकारी गराइसकेको उल्लेख गर्दै, आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वा स्वयं पन्तसँग सम्पर्क गर्न आग्रह गरेका छन् । पन्तको मोबाइल नम्बर ९८५५०२१५२४ मा सम्पर्क गरेर आउन उनले अनुरोध गरेका छन् । यस सुविधाले तत्काल राहत प्राप्त गर्न नसकेका बाढी पीडितहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया