पर्सामा बन गस्तीद्वारा ठूलो मात्रामा काठ र दाउरा बरामद


वीरगंज | पर्सा जिल्लाको विभिन्न स्थानमा बन संरक्षण टोलीले २८ क्युफिट काठ र १२ क्विन्टल दाउरा बरामद गरेको छ।

पर्सागढी नगरपालिका वडा नं. १ मनवामा एक घरको बारीमा लुकाइराखेको अवस्थामा १२.५ क्युफिटको दुई वटा काठ र वडा नं. ३ बड्निहारबाट ३.५ क्युफिटको काठ तथा पाँचवटा साईकल बरामद गरिएको बिन्दावासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष महम्मद रिजाबनुल हकले जानकारी दिए।

बड्निहारको नजिकैको जंगलमा पाँच जनाको समूहमा रहेका तस्करहरूले साईकलमा काठ बोक्दै गर्दा बन टोली देख्नासाथ फरार भएका थिए। जंगलबाट काटिएको १२ क्विन्टल दाउरा पनि बरामद भएको छ। करिब १०-१२ जना संलग्न तस्कर बन टोली देखेर भागेको अध्यक्ष हकले बताए।

यसैबीच, रङ्गपुर सब डिभिजन वन कार्यालयबाट खटिएको टोलीले मङ्गलबार राति भतौडाबाट ४.८३ क्युफिटको एक थान काठ र बुधबार दिउँसो ७.८५ क्युफिटको दुई थान काठ बरामद गरेको रेञ्जर कपिलदेव प्रसाद यादवले जानकारी दिए।

पटेर्वासुगौली वडा नं. ४ भलुवाही खोलाको बाँध नजिकै पनि काठ र साईकल बरामद गरिएको थियो। तस्करहरू बन टोली आएको थाहा पाउनासाथ काठ र साईकल छोडेर फरार भएका थिए। यसैगरी, चाँफी क्षेत्रमा थुपारिएको काठ पनि बरामद गरिएको रङ्गपुर सब डिभिजन बन कार्यालयले जनाएको छ।

बन संरक्षण टोलीले तस्करी नियन्त्रणको लागि विभिन्न क्षेत्रहरूमा निगरानी बढाएको छ।

प्रतिक्रिया




Top