दिपेश कुमार शाह ।रौतहटको कटहरिया बजारस्थित मुख्य सडक स्थानीय व्यापारीहरूको कब्जामा परेको छ। सडकको दायाँबायाँ मात्र नभई बीचमै व्यापारिक सामग्री राख्दा सवारी आवागमनमा बाधा पुर्याउँदै दुर्घटनाको जोखिम बढेको छ।
सडकको नालामा राखिएका पाइपहरू ठाउँठाउँमा फुटेका कारण झनै समस्या उत्पन्न भएको छ। सवारीचालक र पैदल यात्रुहरूलाई दैनिक रूपमा कठिनाइ भोग्नुपरेको छ। स्थानीयहरूले यो समस्या सम्बन्धमा पटकपटक गुनासो गरे पनि मेयर अजयप्रकाश जैसवाल र वडा अध्यक्षको लापरवाहीले गर्दा समस्या समाधान हुन नसकेको स्थानीयहरूको आरोप छ।
पत्रकार दिपेश कुमार शाहलाई केही व्यापारीहरूले पनि यस विषयमा गुनासो गर्दै भने, “सडक व्यवस्थापनको अभावले गर्दा व्यापारीहरू नै दोषी देखिन्छन्। तर, यो समस्या समाधान गर्ने जिम्मेवारी त स्थानीय निकायकै हो। अहिलेको स्थितिमा दुर्घटना कुनै पनि बेला हुन सक्छ।”
स्थानीय प्रशासन र नगरपालिकाले यो विषयमा तत्काल ध्यान दिनुपर्ने माग स्थानीयहरू र व्यापारीहरूको छ। तर, जिम्मेवार निकायले हालसम्म यस विषयमा कुनै ठोस कदम चालेको छैन।
स्थानीयहरूले आग्रह गरेका छन् कि मुख्य सडकलाई सवारी र पैदल यात्रुको लागि सुरक्षित बनाउन, व्यापारीहरूको सामग्री व्यवस्थापन र नालाको खानेपानीको पाइप मर्मत तत्काल गर्नुपर्छ। यदि समस्या समाधान गरिएन भने स्थानीय स्तरमा विरोध आन्दोलन हुने सम्भावना रहेको छ।
प्रतिक्रिया