साउथ जोन स्कुलद्वारा सञ्चारकर्मी नीलिमा पौडेल सम्मानित


वीरगञ्ज । साउथ जोन माध्यमिक विद्यालयले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा सञ्चार क्षेत्रमा सक्रिय महिला पत्रकार नीलिमा पौडेललाई सम्मान गरेको छ।

आइतबार वीरगञ्जस्थित साह दरबार होटेलमा आयोजित विशेष समारोहमा रेडियो वीरगञ्जकी समाचार वाचिक तथा नेपाल पत्रकार महासङ्घकी महिला उपाध्यक्ष नीलिमा पौडेललाई विद्यालयले सम्मान गरेको हो। समाजमा सञ्चार क्षेत्रमार्फत पुर्‍याएको सकारात्मक योगदान, विशेष गरी महिला सशक्तीकरण, सामाजिक सचेतना अभिवृद्धि तथा निष्पक्ष पत्रकारितामा उनको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उनलाई सम्मान पत्र प्रदान गरे।

कार्यक्रममा बोल्दै मन्त्री यादवले सञ्चारकर्मी नीलिमा पौडेलको योगदानको प्रशंसा गर्दै पत्रकारिता जस्तो संवेदनशील पेशामा महिलाको सशक्त उपस्थिति आवश्यक रहेको बताए। साथै, उनले पत्रकारितामार्फत समाजलाई सही सूचना प्रवाह गर्ने, जनचेतना अभिवृद्धि गर्ने कार्य अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयले वर्षभरि आयोजना गरेका विभिन्न शैक्षिक तथा सांस्कृतिक प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई समेत पुरस्कृत गर्यो। सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाका अनुसार, नृत्य तथा गायन प्रतियोगिताका विजेता तथा उपविजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो।

विशेष अतिथि तथा सहभागीहरू

कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथिहरूमा प्रदेशसभा सदस्य रहबर अन्सारी, वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव तथा समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका थिए।


प्रतिक्रिया




Top