बारा प्रहरीले विशेष सूचनाका आधारमा दुई मिनी ट्रक नियन्त्रणमा लिई करिब ३९ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीले नक्कली वा अपूर्ण बिल भरपाई भएका तथा स्रोत नखुलेका सामानसहित ट्रकहरू नियन्त्रणमा लिएको हो।
पहिलो ट्रक नियन्त्रणमा
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चौकमा चेकजाँच गर्ने क्रममा प्रहरीले विराटनगरबाट काठमाडौं जाँदै गरेको ट्रक (प्र.०१–०२–००१ ख ८०८६) नियन्त्रणमा लिएको थियो। उक्त ट्रकमा बिलमा उल्लेख भएको भन्दा फरक मूल्यका सामानहरू भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
सो ट्रकबाट करिब ३८ लाख १६ हजार ७६० रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामान, कपडा, कफी तथा अन्य खुद्रा सामग्री बरामद गरिएको छ। सामानको बिल र वास्तविक मूल्यमा फरक देखिएपछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको हो।
दोस्रो ट्रक नियन्त्रणमा
त्यस्तै, महागढीमाई नगरपालिका–२, इनर्वा चौकमा अर्को मिनी ट्रक (ना ७ ख ३४३९) नियन्त्रणमा लिइएको छ। उक्त ट्रकमा करीब १ लाख ६८ हजार रुपैयाँ बराबरको अवैध आलु रहेको फेला परेको छ।
तेलकुवाबाट बरियारपुर जाँदै गरेको सो ट्रकमा करिब ७ टन आलु लोड गरिएको थियो। तर, सो आलुको स्रोत स्पष्ट नभएकाले प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरी अनुसन्धान र कारबाही प्रक्रिया
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार, दुवै ट्रकमा रहेको सामानको स्रोत र करसम्बन्धी कागजात अपूर्ण रहेकाले अनुसन्धान अघि बढाइएको छ।
नियन्त्रणमा लिइएका सामान र ट्रकहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ। प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका समानहरूको कारोबार रोक्न निरन्तर चेकजाँचलाई कडा पार्ने जनाएको छ।
प्रतिक्रिया