रोयल एकेडेमीको नवौं वार्षिकोत्सव: बालबालिकाद्वारा मानवता र संस्कृतिमा समर्पित प्रस्तुति


वीरगञ्ज – ‘द सेकेण्ड होम अफ युअर चाइल्ड’ भन्ने नाराका साथ संचालन भइरहेको रोयल एकेडेमी विद्यालयले शनिबार आफ्नो ९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। विद्यालयले विशेष कार्यक्रम आयोजना गर्दै सानै उमेरदेखि नै बालबालिकामा मानवताको भावना विकास गराउने उद्देश्य सहित विभिन्न सांस्कृतिक र शैक्षिक प्रस्तुति दिएको छ।

कार्यक्रम वीरगञ्जको क्लासिक बैंक्वेटमा सम्पन्न भएको थियो, जहाँ विद्यालयका बाल कक्षा (पीजी)देखि युकेजी सम्मका विद्यार्थीहरूले “मानवताको सुरुवात आफैंबाट” भन्ने विषयमा आधारित नाटक प्रस्तुत गरेका थिए। यस नाटकमार्फत उनीहरूले मानवीय संवेदनशीलता र सहिष्णुता जस्ता विषयवस्तुमा गहिरो सन्देश दिएका थिए।

साथै, जातीय पहिचान झल्काउने परम्परागत भेषभूषामा सुसज्जित विद्यार्थीहरूले सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए, जसले नेपाली सांस्कृतिक विविधता र एकतालाई उजागर गरेको थियो।

विद्यालयकी प्रधानाध्यापक बिजया ओझैयाले कार्यक्रमको उद्घाटन गर्दै भनिन्, “मानवता सिक्ने पहिलो थलो परिवार हो, तर विद्यालयले यसमा महत्त्वपूर्ण भूमिका खेल्नु पर्छ। सानो उमेरदेखि नै विद्यार्थीलाई मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वबारे सचेत गराउनु आवश्यक छ, जसले उनीहरूलाई भविष्यमा जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न मद्दत पुर्याउँछ।”

विद्यालयकी प्रबन्ध निर्देशक सबनम श्रेष्ठले बालबालिकाको चौतर्फी विकासमा विद्यालयले निरन्तर योगदान दिँदै आएको बताइन्। उनले भने, “केवल किताबी ज्ञान मात्र पर्याप्त छैन, अतिरिक्त क्रियाकलापमा अव्बल बनाउँदा बालबालिकाको आत्मविश्वास अभिवृद्धि हुन्छ र उनीहरू आत्मनिर्भर बन्न सक्छन्।”

कार्यक्रममा एकेडेमीका अध्यक्ष ओम श्रेष्ठले पनि शिक्षामा व्यवहारिक ज्ञानको महत्त्व जोड दिएका थिए। उनले भनिन्, “आजको युगमा च्याटजीपीटी र एआई जस्ता प्रविधिहरू द्रुतगतिमा अघि बढिरहेका छन्। यसैले, केवल सैद्धान्तिक ज्ञानमा मात्र नलागेर अनुभव र व्यवहारिक ज्ञानमा पनि जोड दिनु आवश्यक छ।”

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, सञ्चारकर्मी सूर्यनारायण विक, पत्रकार विमला गुप्ता, आनन्द पटेल, र ग्लोबल कलेजका सहायक प्रधानाध्यापक सुमन श्रेष्ठ लगायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अन्तिममा, अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थीहरू कार्यक्रमप्रति अत्यन्त उत्साहित देखिए। कार्यक्रमको एक विशेषतामा कक्षा २ देखि ५ सम्मका २४ जना विद्यार्थीहरूले आलोपालो गरेर कार्यक्रमको सहजीकरण गरेका थिए, जसले कार्यक्रममा नयापन र आकर्षण थपेको थियो

प्रतिक्रिया




Top