भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन भएको छ। यस घटनाप्रति नेपाल विद्यार्थी संघ, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व इकाइ सभापति मनोज कुमार साहले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
वीरगन्ज टुडे संग प्रतिक्रिया दिँदै नेता साहले यस्तो गम्भीर घटनामा नेपाल र भारत दुवै देशका अधिकारीहरूबीच सहकार्य गरी सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनले नेपाली विद्यार्थीहरूमाथि कलेजका कर्मचारी, वार्डेन तथा गार्डहरूले गालीगलौज, बेइज्जती तथा कुटपिट गर्ने गरेको आरोप लगाउँदै कलेज तथा विश्वविद्यालयको मर्यादा विपरीत यस्ता गतिविधि रोक्न आवश्यक कदम चालिनुपर्ने बताए।
साहले नेपालस्थित भारतीय दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नु सकारात्मक भए पनि दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, विश्वविद्यालयमा अध्ययन गर्न गएका विद्यार्थीहरू दास नभएको उल्लेख गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
नेता साहले शैक्षिक अवधिभर नेपाली विद्यार्थीहरूको सुरक्षा ग्यारेन्टी गर्न नेपाल र भारत दुवै सरकार गम्भीर बन्नुपर्ने बताए। उनले नेपाली विद्यार्थीहरूले आफ्नो शैक्षिक सत्र पूरा गर्न पाउनुपर्ने सुनिश्चितता कलेज प्रशासनले गर्नुपर्ने धारणा व्यक्त गरे।
कलेज प्रशासनले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म ठोस कारबाही नभएको नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई कलेज फर्किन आग्रह गरेको छ। साथै, घटनाको छानबिन गरिने र दोषीलाई कारबाही गरिने आश्वासन दिएको छ।
प्रतिक्रिया