केडिया आँखा अस्पतालले आफ्नो ५० वर्षे सेवा अवधिमा २७ लाखभन्दा बढी आँखाको जाँच तथा उपचार प्रदान गरेको छ। यस अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अस्पतालको योगदानको उच्च मूल्याङ्कन गर्दै यसलाई नेपालकै आँखासम्बन्धी उत्कृष्ट संस्थामध्ये एक भएको उल्लेख गरे।
उपराष्ट्रपति यादवले अस्पतालले प्रदान गरेको सेवा एकदम सराहनीय रहेको बताउँदै विशेष गरी मधेश प्रदेश तथा नेपालका अन्य क्षेत्रका नागरिकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे। उनले भविष्यमा अझ धेरै नागरिकहरूले गुणस्तरीय उपचार पाउन सकून् भन्ने शुभेच्छा व्यक्त गरे।
केडिया आँखा अस्पतालले ५० वर्षको अवधिमा लाखौँ व्यक्तिहरूलाई निशुल्क तथा सुलभ दरमा आँखा जाँच, शल्यक्रिया, औषधोपचार तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अस्पतालका अध्यक्षका अनुसार विगतका वर्षहरूमा प्रविधि सुधार, विशेषज्ञ सेवाहरूको विस्तार तथा ग्रामीण क्षेत्रसम्म सेवा पु¥याउने अभियानमा केडिया आँखा अस्पताल अग्रसर रहेको छ।
यस अस्पतालले विशेष गरी मोतियाबिन्दु, रेटिनोपेथी, दृष्टि सम्बन्धी अन्य समस्याहरूको पहिचान तथा उपचार गर्दै आइरहेको छ। साथै, अस्पतालले मोफसलका स्वास्थ्य केन्द्रहरूसँग समन्वय गरेर मोबाइल स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ, जसले गर्दा दुर्गम स्थानका बिरामीहरूलाई पनि सुविधा मिलेको छ।
उक्त समारोहमा विभिन्न चिकित्सा क्षेत्रका विज्ञहरू, समाजसेवी तथा स्थानिय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। अस्पतालले भविष्यमा सेवा क्षेत्र अझ विस्तार गर्दै थप नागरिकलाई लाभान्वित गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया