वीरगन्ज महानगरपालिकाका निजी विद्यालयहरूले माध्यामिक शिक्षा परीक्षाको (एसईई) पूर्व तयारीका लागि मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ को आयोजना गरेका छन्। यस प्रतियोगितामा वीरगन्जका १५ वटा विद्यालयका कक्षा १० का विद्यार्थीहरू सहभागी भएका छन्।
प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार वीरगन्जका विभिन्न विद्यालयका ७५ जना विद्यार्थीहरूले मनकामना माविमा सञ्चालन गरिएको प्रतियोगितामा सहभागिता जनाएका छन्। उनले यस प्रतियोगिताले विद्यार्थीहरूलाई एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरी तयार गराउने लक्ष्य राखेको बताए।
उनका अनुसार ४.० जीपीए हासिल गर्ने विद्यार्थीहरूको संख्या बढाउने उद्देश्यले ओलम्पियाड सञ्चालन गरिएको हो। वीरगन्ज क्षेत्रबाट धेरै विद्यार्थीहरू उच्च जीपीए ल्याउन सफल बनाउने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको उनले उल्लेख गरे।
मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ विद्यार्थीहरूको शैक्षिकस्तर सुधार गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई सम्मान गर्ने योजना पनि रहेको जानकारी गराइएको छ।
विद्यार्थीहरूलाई परीक्षा तयारीमा सहयोग पुर्याउन यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने बताउँदै शिक्षाविद्हरूले भविष्यमा पनि निरन्तर यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका छन्।
प्रतिक्रिया