जितपुरसिमरामा ५१ कुण्डीय गायत्री महायज्ञ सुरु, कलश यात्रामा हजारौँ सहभागी


बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित केराढोका बंगाली बाबा मन्दिरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण महोत्सव सुरु भएको छ । बिहीबारदेखि शुभारम्भ भएको महायज्ञको पहिलो दिन एक हजारभन्दा बढी श्रद्धालुहरूको सहभागितामा भव्य कलश यात्रा निकालिएको छ । कलश यात्रामा पूर्व मन्त्री जितेन्द्र सोनल, प्रतिनिधिसभा सदस्य एवं नेपाल सरकारका पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

महायज्ञ प्रचार–प्रसार समितिका अध्यक्ष सन्तोष कुश्वाहाका अनुसार महायज्ञको मुख्य उद्देश्य समाजमा आध्यात्मिक चेतना फैलाउने, शान्ति स्थापनाको मार्ग देखाउने तथा धार्मिक संस्कारको प्रवर्द्धन गर्नु हो । यज्ञ, हवन, जप, संगीत, प्रवचन तथा पुराण कथाका कार्यक्रमहरूसहितको महायज्ञ फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दिन बेलुकी ८ बजे विशेष धार्मिक प्रवचन हुने बताइएको छ ।

महायज्ञको सम्पूर्ण खर्च करिब १२ लाख ९५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । महायज्ञ सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागी हुन आयोजक समितिका सचिव अमर यादवले आग्रह गरेका छन् । यस धार्मिक अनुष्ठानले समाजमा नैतिक मूल्य अभिवृद्धि गर्दै धार्मिक तथा सांस्कृतिक एकताको सन्देश फैलाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया




Top