जनकपुरधाम, चैत्र १० गते – मधेश प्रदेशमा खेलकुदको विकासलाई थप गति दिन खेलकुद तथा समाज कल्याण मन्त्रालयले एक महत्वपूर्ण कार्यक्रमको थालनी गरेको छ। मन्त्रालयद्वारा आयोजित जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम आज जनकपुरधाममा सुरु भएको छ। कार्यक्रमको उद्घाटन मधेश प्रदेशका खेलकुद मन्त्री शैलेन्द्रप्रसाद जयसवालले गरेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री जयसवालले खेलकुद क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताए। उनले प्रशिक्षक र प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धिले खेलाडीहरूको प्रशिक्षण तथा खेलकुद व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। मन्त्री जयसवालका अनुसार यस प्रकारका कार्यक्रमहरूले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा दिनेछ।
खेलकुद मन्त्रालयले मधेश प्रदेशमा खेल गतिविधि प्रवर्द्धन गर्न विभिन्न योजनाहरू अगाडि सारेको छ। खेल मैदान तथा पूर्वाधारको विस्तार, आधुनिक प्रशिक्षण कार्यक्रम, खेलाडीहरूको जीवनयापन सुधार, र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने जस्ता योजनाहरू प्राथमिकतामा छन्।
यो क्षमता अभिवृद्धि कार्यक्रमले खेल प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई नवीनतम प्रविधि तथा विधिहरूमा तालिम दिनेछ, जसले मधेश प्रदेशको खेलकुद स्तरलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रदेश सरकारले खेलकुद क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने जानकारी दिइएको छ।
प्रतिक्रिया