पर्साको ग्रामीण भेगमा हर्दिनाथ–१ जातको चैते धान रोपाइँ सुरू


१० चैत, सेढवा – पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ (१४४२) जातको धान रोपाइँ सुरू भएको छ। विशेषगरी जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका तथा बीरगंज महानगरपालिकाका केही वडाका किसानहरूले यो धान खेती थालेका छन्।

किसानहरू तोरी, कार्तिकी सुर्ती तथा अन्य बाली भित्र्याएपछि खाली भएको जमिनमा हर्दिनाथ–१ धान रोप्न लागिपरेका छन्। ठोरी गाउँपालिका–५, क्षेत्रीलाईनका किसान बलराम कोर्मोचाका अनुसार फागुनको पहिलो सातामा ब्याडमा राखिएको बीउ रोपाइँका लागि तयार भएकाले किसानहरूले खेतमा काम सुरू गरेका हुन्।

किसानहरूको अनुभवअनुसार हर्दिनाथ–१ धानको उत्पादन राम्रो हुनुका साथै यसको अन्न स्वादिष्ट हुने भएकाले पछिल्लो समयमा यसको खेती विस्तार भइरहेको छ। कतिपय किसानहरूले रोपाइँ सकाइसकेका छन् भने केही अझै खेत तयारीमा जुटेका छन्।

रोजगारीका लागि धेरै स्थानीय बिदेश र शहरतर्फ गएपछि छिमेकी गाउँपालिका तथा भारतबाट मजदुर ल्याउने प्रचलन बढेको किसान कोर्मोचाले बताए।

७५% खेती योग्य जमिनमा हर्दिनाथ–१ धान

पटेर्वासुगौली गाउँपालिका–२, मकवानीटोलका किसान बिगा महरा चमारका अनुसार गाउँपालिकाको वडा नं १ र २ मा करिब ७५% खेती योग्य जमिनमा हर्दिनाथ–१ धान रोपिन्छ। बाँकी २५% जमिनमा सुर्ती तथा मकै खेती हुने गर्दछ।

तर, केही स्थानमा बीउ तयार भइसकेको छैन, जसका कारण किसानहरू हाल खेतको तयारी, मल व्यवस्थापन तथा खनजोतको काममा व्यस्त रहेको चमारले बताए।

सखुवाप्रसौनी गाउँपालिकामा पनि रोपाइँ सुरू

सखुवाप्रसौनी गाउँपालिका वडा नं १, सखुवनियाका सुरेन्द्र महतो थारुका अनुसार सो क्षेत्रमा करिब ५०% जमिनमा चैते धान खेती गरिन्छ।

हर्दिनाथ–१ धान जुनसुकै समयमा रोप्न सकिने भएकाले कतिपय किसानहरूले अहिले ब्याडमा बीउ राख्ने काम गरिरहेका छन्। गहुँबाली भित्र्याएपछि त्यही जमिनमा यसको रोपाइँ गर्न मिल्ने भएकाले किसानहरू उत्साहित छन्।

उत्पादन दर वृद्धि

यो धान ९० दिनमा तयार हुने भएकाले किसानहरूले पुनः अर्को धानबाली (दतुरा) लगाउन सक्नेछन्। विगत २–३ वर्षदेखि किसानहरूले हर्दिनाथ–१ धान खेती गर्दै आएका छन्, जसबाट प्रति कट्ठा ५ मन (२ क्विन्टल) देखि ८ मन (३.५ क्विन्टल) सम्म उत्पादन भइरहेको छ।

यसरी, पर्साका विभिन्न ग्रामीण क्षेत्रका किसानहरू अहिले चैते धान खेतीमा सक्रिय छन्, जसले कृषि उत्पादन वृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया




Top