कटहरिया नगरपालिकामा २८ महिनादेखि तलब नपाएपछि वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको आक्रोश


वीरगन्ज टुडे,
रौतहट: कटहरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले नगरपालिकाको कमजोर आर्थिक व्यवस्थापनप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनका अनुसार, नगरपालिकाका कर्मचारीहरूले २८ महिनादेखि तलब नपाउँदा प्रशासनिक गतिविधि प्रभावित भएको छ।

मेयर अजयप्रकाश जैसवालप्रति कटाक्ष गर्दै अध्यक्ष कुशवाहाले भने, “तलब दे, मेयर! तिमीलाई केही फरक पर्दैन, तर सारा कर्मचारीहरू आर्थिक संकटमा छन्। अब त हामीलाई जागिर जोगाउने कि राजीनामा दिने भन्ने अन्योल छ। वडाका कर्मचारीहरूलाई काममा लगाउने कि उनीहरूसँग माफी माग्ने अवस्था आएको छ।”

नगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाउँदा चरम आर्थिक समस्यामा परेका छन्। समस्या समाधानका लागि विभिन्न निकायमा पहल गर्दा पनि कुनै ठोस निष्कर्ष ननिस्किएको गुनासो वडा अध्यक्ष कुशवाहाले गरेका छन्।

उनले स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले समस्या समाधान गर्नुभन्दा उल्टै दबाव सिर्जना गरेको आरोप लगाउँदै भने, “ताल्चा हान्दा प्रशासन भन्छ – ‘ताल्चा खोल, नत्र हामी आफैं तोड्छौं।’ तर जब राम्रो प्रशासकीय अधिकृतको माग लिएर मन्त्रीकहाँ जान्छौं, मेयरले हाजिर गराउँदैनन्।”

नगरपालिकामा आर्थिक अनियमितता र प्रशासनिक अस्थिरताको कारण कर्मचारीहरू मात्र नभई स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू समेत प्रभावित भएका छन्। नगरपालिकाले उचित रूपमा सेवा प्रवाह गर्न नसक्दा शिक्षा, स्वास्थ्य, पूर्वाधार, र अन्य क्षेत्रहरू प्रभावित भएका छन्।

अब यो समस्या समाधानका लागि कुन निकायले पहल गर्ने भन्ने अनिश्चित छ। कर्मचारीहरू आन्दोलित भइरहँदा नगरपालिकाको नेतृत्व भने मौन देखिएको छ।

प्रतिक्रिया




Top