वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव, प्रशासनले कर्फ्युपछि पाँच बुँदे निर्णय सार्वजनिक


सुमेस्वर साह ,

वीरगञ्ज, चैत ३० – वीरगञ्ज महानगरपालिका क्षेत्रमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा भएको अप्रिय घटनापछि पर्सा प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, धार्मिक संस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको आपतकालीन बैठक बसेको छ। बैठकले सामाजिक सद्भाव कायम राख्न र स्थिति नियन्त्रणमा ल्याउनका लागि पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ।

प्राप्त निर्णय अनुसार, चैत ३० गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइनेछ। घटनाबारे विस्तृत अनुसन्धान/छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरिने निर्णय भएको छ।

प्रशासनका पाँच निर्णय यसप्रकार छन्:

१. कानुनी कारबाही: हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याइनेछ।

 

साम्प्रदायिक सौहार्द: अन्तरसाम्प्रदायिक एवं सामाजिक सद्भाव कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रहनेछ, र कानुनी प्रक्रियामा सहयोग पुर्‍याउनेछ।

 

घाइतेको उपचार: घटनामा घाइते भएका व्यक्तिहरूको निशुल्क उपचारको व्यवस्था गरिनेछ, साथै उनीहरूको क्षतिको मूल्यांकन गरी राहतको पहल गरिनेछ।

 

हातहतियार निषेध: कुनै पनि जात्रा, पर्व वा कार्यक्रमको नाममा हातहतियार प्रदर्शन नगर्न निर्देशन दिइएको छ। उल्लङ्घन गरेमा कानुनी कारबाही गरिनेछ।

 

धार्मिक संस्था अनुगमन: पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संस्था तथा तिनअन्तर्गत सञ्चालनमा रहेका विद्यालय/मदरसाहरूको सूक्ष्म अनुगमन गरिनेछ। नियम विपरीत गतिविधि पाइएमा कडा कारबाही गरिनेछ।

 

 

उक्त निर्णयपत्रमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी, स्थानीय प्रशासन र धार्मिक अगुवाहरूको सहमति हस्ताक्षर गरिएको छ।

घटनापछि वीरगञ्जको विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको छ। सडकहरू सुनसान छन्, स्थानीयहरू घरभित्र सीमित छन्। प्रशासनले शान्ति सुरक्षाको सुनिश्चितता र साम्प्रदायिक सद्भाव कायम राख्न जनसमुदायसँग संयमता अपनाउन आग्रह गरेको छ।

 

 

प्रतिक्रिया




Top