सुमेश्वर साह,
वीरगन्ज, वैशाख १ – नयाँ वर्ष २०८२ को दिन वीरगञ्जको घन्टाघर क्षेत्रबाट खिचिएको एउटा फोटो अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको छ। फोटोमा सानो उमेरको बालक केही थान खिरा (काक्रो) बेचिरहेका छन् — त्यो पनि रमाइलोको घडीमा, जहाँ अधिकांश मानिस नयाँ वर्षको उत्सवमा रमाइरहेका थिए।
उक्त बालकले रंगीन उत्सवको भीडमा खिरा बेच्दै गरेको देखिन्छ। अनुहारमा थकान र दुःखको छायाँ छ, तर पेट पाल्न गरिरहेको इमान्दार संघर्ष भने प्रष्ट देखिन्छ। फोटोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान खिच्दै हृदय छुने प्रतिक्रिया बटुलिरहेको छ।
“यो फोटोले रमाइलोका बीच हाम्रो समाजको अर्को सत्य देखाएको छ,” एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्। अर्कोले लेखे, “हामी नयाँ वर्ष मनाउँछौं, तर कोही आफ्ना लागि र परिवारका लागि पेट पाल्ने चिन्तामा छन्।”
धेरैले बाल श्रमको यो दृश्यप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्। बालबालिकाले शिक्षा र खेलकुदमा रमाउने उमेरमा सडकमा पसल थाप्नु पर्ने बाध्यता हाम्रो सामाजिक संरचनाको गम्भीर प्रश्न हो।
स्थानीय बाल अधिकारकर्मीहरूले यस्तो घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। “नयाँ वर्षको दिन भाइरल फोटोमार्फत आएको यो सन्देश चेतना जगाउने अवसर हो। हाम्रा सबै नीतिहरू व्यवहारमा लागू नभएसम्म यस्तो दृश्य फेरि फेरि देखिनेछ,” एक सामाजिक अभियन्ताले बताए।
प्रतिक्रिया