ताप्लेजुङमा गाडीमा आगलागी: चार जनाको ज्यान गयो, दुई घाइते


सुमेश्वर साह,

ताप्लेजुङ, वैशाख ८। ताप्लेजुङमा भएको एक दर्दनाक दुर्घटनामा चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। फुङलिङ नगरपालिका–१० अन्तर्गत गुन्द्रे र तेर्से नजिकैको सडकमा बिजुलीको तार झरेर सवारी साधनमा आगलागी हुँदा ज्यान जाने घटनाले स्थानीय बासिन्दालाई स्तब्ध पारेको छ।

मे १ ज ३०११ नम्बरको गाडी पाथिभरा मन्दिरतर्फ जाँदै गर्दा सडकमा झरेको उच्च भोल्टेजको तारको सम्पर्कमा आउँदा गाडीमा आगो लागेको प्रहरीले जनाएको छ। आगलागीबाट गाडीमा रहेका ६ जनामध्ये ४ जनाको घटनास्थलमै ज्यान गएको हो।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१० का सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल, र ७० वर्षीय विनोद पौडेल रहेका छन्।

घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार मृतक आध्या आचार्य घाइते सविनाकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका आमा-बुबा रहेको खुलेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया




Top