पूर्व वडाध्यक्ष स्व. प्रकाश बहादुर सिलवालको निधनप्रति वीरगञ्ज–१० मा श्रद्धाञ्जली, वडा कार्यालय बन्द


वीरगञ्ज, वैशाख १४ —
वीरगञ्ज महानगरपालिका–१० का पूर्व वडाध्यक्ष तथा समाजसेवी स्व. प्रकाश बहादुर सिलवालको निधनप्रति शोक व्यक्त गर्दै आज वडा कार्यालय बन्द गरिएको छ।

स्व. सिलवालको मिति २०८२ वैशाख १३ गते असामयिक निधन भएको हो। उहाँको निधनले वीरगञ्जले एक कुशल नेतृत्वकर्ता र समर्पित समाजसेवी गुमाएको भन्दै वडा नं १० को कार्यालयमा आज विशेष शोकसभा आयोजना गरिएको थियो। सभामा वडाध्यक्ष सुसिल कुमार कानु, वडा सचिव पवन प्रधान, वडा सदस्य प्रभु महतो, सन्तोष जैसि, महिला वडा सदस्य प्रेमशीला देवी र मिश्रादेवी नगरकोटी लगायतको उपस्थिति रहेको थियो।

विशेष बैठकले स्व. सिलवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। वडाध्यक्ष सुसिल कुमार कानुले स्व. सिलवालले वीरगञ्जको विकास, सहर व्यवस्थापन र सामाजिक सेवामा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने बताए।

बैठकको निर्णयअनुसार आज आइतबार अत्यावश्यक सेवाबाहेक वडा कार्यालय र मातहतका पुस्तकालय बन्द गरिएको छ। शोक सन्देशमा स्व. सिलवालको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

शोकसभामा सहभागी सबैले स्व. सिलवालको योगदानलाई उच्च सम्मान गर्दै उहाँको स्मृतिमा मौनधारण र श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रतिक्रिया




Top