३० जेठ, काठमाडौं — गृहमन्त्री रमेश लेखकले संसद्मा सम्बोधन गर्दै आफूविरुद्ध योजनाबद्ध रुपमा षड्यन्त्र र चरित्र हत्या गर्ने प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन्। उनले भनेका छन् कि केही पार्टी कार्यालयहरूमा नक्कली तथा तथाकथित पीडितहरूलाई बोलाएर आफूविरुद्ध जाहेरी तयार पार्ने र विभिन्न स्थानमा दर्ता गराउने काम भइरहेको छ। रास्वपा र राप्रपाको संसद् अवरोधबीच उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
गृहमन्त्रीले ती जाहेरीहरू कुन पार्टी कार्यालयमा तयार गरिएको भन्नेबारे आफूसँग ठोस जानकारी रहेको भन्दै नक्कली पीडित खडा गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनले भने, “राजनीतिक उद्देश्य पूरा गर्न जालसाझी र कीर्ते काम नगर्न म सबैलाई आग्रह गर्दछु।”
रास्वपा पार्टीतर्फ संकेत गर्दै उनले आरोप लगाए कि ती पार्टीका कार्यालयहरू अब कीर्ते पीडित बनाउने केन्द्र बनेका छन्। भिजिट भिसा प्रकरणमा आफूविरुद्ध कुनै पनि प्रमाण, उजुरी वा जाहेरी नरहेको स्पष्ट पार्दै उनले राजीनामा माग गर्नु नितान्त अनुचित भएको बताए। उनले यो सबै राजनीतिक प्रतिशोध स्वरूप भइरहेको दाबी गरे। लेखकको अभिव्यक्तिले राजनीतिक वृतमा थप बहस र तकरारको वातावरण सिर्जना गरेको छ।
प्रतिक्रिया