भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा


पर्सा, ३ असार — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट भन्सार छलि ल्याइएको करिब १० लाख १८ हजार रुपैयाँ बराबरको मल्टिभिटामिन ट्याब्लेट बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१, छप्कैयाबाट RIVITROL-CM multivitamin tablet को १०१८ डब्बा नियन्त्रणमा लिएको हो। ती औषधिहरू दुईवटा मोटरसाइकलमा लोड गरी वीरगंजतर्फ ल्याइँदै गरिएको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मल्टिभिटामिनसहित प्रयोग गरिएका दुवै मोटरसाइकललाई पनि आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, पछिल्ला दिनमा भन्सार छली गरेर ल्याइने समानहरूको तस्करी रोक्न सशस्त्र प्रहरीले निगरानी र चेकजाँच प्रक्रिया कडा बनाएको छ।

उनले भने, “सीमावर्ती क्षेत्रहरूमा निगरानी अझ प्रभावकारी बनाइएको छ र यस्ता गैरकानुनी कार्यमा संलग्न जो–कोहीमाथि कडा कारवाही हुने छ।”

अवैध औषधि तस्करीको यस घटनाले सीमा सुरक्षाको संवेदनशीलतालाई पुनः उजागर गराएको छ। यसबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।


प्रतिक्रिया




Top