वीरगञ्ज, असार १५ –
राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयले वीरगञ्ज टुडेका सञ्चालक श्री आनन्द प्रसाद कानुलाई प्रदेशस्तरीय महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ। पार्टीले उनलाई प्रदेश युवा तथा खेलकुद विभागको प्रमुख पदमा नियुक्त गरेको हो।
यस सम्बन्धमा मधेश प्रदेश समितिका अध्यक्ष इ. तापेश्वर यादवले जेष्ठ २६ गते जारी गरेको नियुक्ति पत्रमा उल्लेख गरिए अनुसार, पार्टीको विधान, नियमावली तथा सांगठनिक आवश्यकता अनुरूप कानुलाई यो जिम्मेवारी दिइएको हो।
नियुक्ति पत्रमा भनिएको छ, “राजनैतिक सिद्धान्त, निति तथा अनुशासनको पालनामा निरन्तर क्रियाशील तथा जिम्मेवारी निर्वाह गर्न सक्ने पूर्ण विश्वाससाथ यो जिम्मेवारी प्रदान गरिएको हो।” साथै, संगठनलाई अझ सुगठित र प्रभावकारी बनाउन कानुको सक्रिय भूमिका रहने अपेक्षा पनि व्यक्त गरिएको छ।
वीरगञ्ज न.पा. वडा नं. १० निवासी श्री कानु विगत लामो समयदेखि सामाजिक सञ्चार, पत्रकारिता तथा युवामैत्री अभियानमा क्रियाशील रहँदै आएका छन्। पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका उनले विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्।
नयाँ जिम्मेवारी प्राप्त गरेपछि श्री कानुले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै आफूलाई दिइएको भूमिकालाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “प्रदेशस्तरीय युवाहरुको क्षमता विकास, खेलकुद प्रवर्द्धन तथा नीति निर्माणमा सकारात्मक योगदान पुर्याउन म प्रयत्नशील रहनेछु।”
यो नियुक्तिसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेशमा युवा तथा खेलकुद क्षेत्र थप सक्रिय हुने विश्वास गरिएको छ।
प्रतिक्रिया