२२ भदौ, काठमाडौं । काठमाडौंको बौद्धस्थित बाहुनाधारामा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न तीन जना भारतको दिल्लीबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई नेपाल फर्काएको हो।
घटना १२ साउनको राति करिब ९ बजे नयाँबस्तीस्थित डी क्याफे अगाडि भएको थियो। मोटरसाइकलमा सवार जितबहादुर मोक्तान क्याफेबाट खाजा खाएर बाहिर निस्किने क्रममा उनीमाथि चार जनाको समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए।
हमलाकारीहरूले मोक्तानको हात, ढाड, र पेटमा खुकुरी प्रहार गरेका थिए। घटनापछि उनीहरू फरार भएका थिए भने गम्भीर घाइते मोक्तानलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।
घाइते मोक्तान काभ्रेको रोशी गाउँपालिका–१० का बासिन्दा हुन्।
अनुसन्धान र पक्राउ
घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले संलग्न व्यक्तिहरू भारततर्फ फरार भएको पत्ता लगाएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय समन्वयका माध्यमबाट दिल्ली प्रहरीले उनीहरूलाई पक्राउ गरी नेपाल पठाएको हो। हाल पक्राउ परेका तीनै जना काठमाडौंमै प्रहरी हिरासतमा छन्।
घटनाका अन्य संलग्नहरूको खोजी जारी रहेको बताइएको छ।
प्रतिक्रिया