२३ भदौ,सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलमा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। खेतमा घाँस काटिरहेकी सुलेनादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
५० वर्षीया मण्डललाई खेतमा काम गरिरहेकै बेला चट्याङ लागेको प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।“चट्याङ लागेपछि उनको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ,” डीएसपी पासवानले बताए।
प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने भएकाले प्रहरीले स्थानीयहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। खुला ठाउँमा काम गर्दा विशेष सतर्क रहन, सम्भव भएसम्म सुरक्षित स्थानमा आश्रय लिन र मौसम पूर्वानुमानलाई ध्यान दिन आग्रह गरिएको छ।
प्रहरीले विपद् जोखिम न्यूनीकरणका लागि चट्याङबाट जोगिने उपायहरूबारे जनचेतना बढाउन आवश्यक रहेको उल्लेख गरेको छ।
ग्रामीण क्षेत्रमा काम गर्ने बेला सावधानी नअपनाउँदा यस्ता घटनामा ज्यान जाने क्रम बढिरहेको छ।
प्रतिक्रिया