भ्रष्टाचार र सुशासनको माग गर्दै वीरगञ्जमा जेनजी युवाको प्रदर्शन


२३ भदौ,वीरगञ्ज । देशभर सुरु भएको जेनजी युवाको आन्दोलनको लहर अब वीरगञ्जसम्म पनि फैलिएको छ। भ्रष्टाचारको अन्त्य, सुशासनको माग र सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने भन्दै युवाहरूले आज बिहानैदेखि घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्।

’जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ र ’कता हिँडेको ट्याक्स लुटेर ?’ जस्ता नारा लगाउँदै युवाहरू सडकमा उत्रिएका थिए। यो प्रदर्शन काठमाडौंको माइतीघर मण्डलामा भइरहेको आन्दोलनको प्रतिध्वनिका रूपमा हेरिएको छ।

प्रदर्शनमा सहभागी युवाहरूले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाउने र यसको दुरुपयोग गर्न खोज्ने कुनै पनि समूहलाई खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यो आन्दोलन कुनै व्यक्ति विशेषको विरुद्धमा नभई देशमा मौलाएको भ्रष्टाचार र बेथितिको विरोधमा केन्द्रित छ।

आन्दोलनकारी युवाहरूले आजको पुस्ता चुपचाप नबस्ने र यो देशको आवाज मात्र नभई शक्ति पनि हो भन्ने सन्देश दिएका छन्। उनीहरूले राजनीतिक दल वा स्वार्थी तत्वहरूलाई यो आन्दोलनलाई कब्जा गर्ने प्रयास नगर्न चेतावनी पनि दिएका छन्।


प्रतिक्रिया




Top