२२ भदौ,सिरहा। सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएको लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सिरहाबाट पक्राउ गरेको छ।
आइतबार बिहान सिरहाको गोलबजार नगरपालिका–६, गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाको गस्ती टोलीले सुखिपुर नगरपालिका–७, सिसवा निवासी २२ वर्षीय रामकुमार यादवलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार यादवसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार छन्। यादवको साथबाट २ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको कपडा र २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका दुईवटा मोटरसाइकल बरामद भएको छ। बरामद गरिएको कुल सामानको मूल्य ५ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ।
भारतबाट अवैध रूपमा सामान भित्र्याउने कार्यलाई रोक्न सशस्त्र प्रहरीले निगरानी बढाएको उपरीक्षक भण्डारीले बताएका छन्। पक्राउ परेका सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए।
प्रतिक्रिया