बारामा नरभक्षी बाघको आतंकः थप एक वृद्धको मृत्यु


२२ भदौ, बारा। बारामा नरभक्षी बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। यो घटनासँगै पछिल्लो दुई महिनामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

आज बिहान च्याउ टिप्न प्रगतिशील सामुदायिक वनमा गएका जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामालाई बाघले आक्रमण गरी मारेको हो। बिहान करिब ७ बजेतिर भएको यो घटना घाँस काट्न गएका अन्य स्थानीयहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीका अनुसार लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।

पर्सा राष्ट्रिय निकुञ्जले मानिसमाथि आक्रमण बढेपछि प्रभावित क्षेत्रमा सीसी क्यामेरा जडान गरेको जनाएको छ। साथै, नरभक्षी बाघलाई नियन्त्रणमा लिन चितवनबाट प्राविधिक टोली पनि बोलाइएको छ। यसअघि पनि बाराको अम्लेखगञ्जमा तीनजना स्थानीयको बाघको आक्रमणबाट मृत्यु भइसकेको थियो।


प्रतिक्रिया




Top